काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक झडपमा गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। उपचारका लागि काठमाडौं ल्याइएका उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार बिहान करिब १०:३० बजे मृत्यु भएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार रवीन्द्रको अवस्था अत्यन्तै जटिल रहेकाले शरीरमा लागेको गोली निकाल्न सम्भव भएको थिएन। बायाँ तिघ्राको नसामा गम्भीर क्षति पुगेपछि चिकित्सकहरूले शल्यक्रिया गरी खुट्टा समेत काटेका थिए। यद्यपि उपचारकै क्रममा उनको ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ।
यसअघि सोही घटनामा गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको थियो। रवीन्द्रको निधनसँगै कप्तानगञ्ज झडपमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
साउन १० गते राति धार्मिक झण्डा हटाउने विषयबाट सुरु भएको विवाद डिजे बाजा र पूजाको तयारीका क्रममा उग्र बन्दै दुई पक्षबीच हिंसात्मक झडपमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाउँदा सुरक्षाकर्मीसहित २२ भन्दा बढी सर्वसाधारण घाइते भएका थिए।
घटनापछि स्थानीय प्रशासनले कप्तानगञ्ज तथा आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको थियो। घाइतेमध्ये केहीको विराटनगरका विभिन्न अस्पताल तथा काठमाडौंका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
