• Monday 5th of October 2026

प्रहरीको गोलीबाट मृत्यु भएका रवीन्द्र मेहताको शव नबुझ्ने : गृहमन्त्री नै आउनुपर्ने अडान


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएपछि उनका परिवारले शव नबुझ्ने अडान लिएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार बिहान निधन भएका मेहताको परिवारले सरकारसँग औपचारिक सहमति नभएसम्म शव नबुझ्ने र अन्त्येष्टि प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेको छ।

अस्पताल परिसरमा भेला भएका मृतकका आफन्त तथा स्थानीयले गृहमन्त्री स्वयं उपस्थित भएर आफ्ना माग सम्बोधन गर्नुपर्ने माग राखेका छन्। उनीहरूले सरकारसँग ठोस सहमति नभएसम्म अस्पताल नछाड्ने अडानसमेत लिएका छन्।

यसअघि सुनसरी घटनामा ज्यान गुमाएका अन्य तीन जनाका परिवारसँग सरकारले शहीद घोषणा, आर्थिक सहायता तथा परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने विषयमा सहमति गरेको थियो।

रवीन्द्र मेहताका परिवारले पनि सोही प्रकृतिको सुविधा र प्रतिबद्धता आफूहरूलाई समेत उपलब्ध गराउनुपर्ने माग राख्दै त्यसबारे औपचारिक सहमति नभएसम्म शव नउठाउने अडान कायम राखेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖