काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सोमबार राति भएको छलफलका क्रममा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाको स्वास्थ्य अवस्थाबारे सार्वजनिक भएका समाचारप्रति असहमति जनाएका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै केही सञ्चारमाध्यमले थपलिया बेहोस भएर ढलेको भन्दै भ्रामक समाचार सम्प्रेषण गरेको दाबी गरेका छन्।
उनका अनुसार छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा थपलिया केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको मात्र हो। उक्त अवस्थालाई अतिरञ्जित गरेर प्रचार गरिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका छन्।
यद्यपि, बैठकमा सहभागी केही सांसदहरूले भने अध्यक्ष ओलीको कडा टिप्पणीपछि थपलिया अस्वस्थ भई लडेका थिए र उनलाई उपचारका लागि अस्पताल लगिएको दाबी गरेका छन्।
बस्नेतले बागमती प्रदेश सरकार गठनका विषयमा एमाले र नेकपाबीच भएको सहमतिअनुसार पार्टी नेतृत्व र प्रदेशका सांसदहरूबीच निरन्तर आन्तरिक छलफल भइरहेको पनि बताएका छन्।
उनले पार्टीको पहिलो प्राथमिकता सहमतिमै सरकार गठन गर्नु रहेको उल्लेख गर्दै सहमति सम्भव नभए संसदीय दलको भावना र लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय गरिने बताए।
बस्नेतका अनुसार एमाले र नेकपाको संयुक्त संख्या मात्र सरकार गठनका लागि पर्याप्त नभएकाले बहुमत जुटाउन थप तीन सांसदको समर्थन आवश्यक छ। स्थायी र जिम्मेवार सरकार गठनका लागि पार्टी अध्यक्षसहित शीर्ष नेतृत्वले आवश्यक पहल गरिरहेको पनि उनले बताएका छन्।
