बागलुङ । बागलुङमा खाना पकाउने ग्यास सिलिन्डर कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पिकअप भ्यानसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१३ का ४३ वर्षीय भूपति जैसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–१ रामरेखा क्षेत्रमा पिकअप भ्यानमा गृहलक्ष्मी एलपीजी ग्यास सिलिन्डर लुकाइछिपाई बढी मूल्यमा सर्वसाधारणलाई बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पिकअप भ्यान रोकी जाँच गर्दा ४१ वटा भरिएका गृहलक्ष्मी ग्यास सिलिन्डर र बिक्री भइसकेका १९ वटा खाली सिलिन्डर बरामद गरेको जनाएको छ। घटनामा प्रयोग भएको पिकअप भ्यानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट कालोबजारीसम्बन्धी कसुरमा सात दिनको म्याद थप अनुमति लिएर जैसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
