पोखरा । कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन जना युवक सम्पर्कविहीन भएका छन्। उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा क्षेत्रको जंगल आसपास हराएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरू बाटो बिराएर अलपत्र परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र पासवानका अनुसार बुधबार बिहान करिब ८ बजेसम्म उनीहरूसँग सम्पर्क भएको थियो। त्यसपछि भने उनीहरूको मोबाइल बन्द भएको र सम्पर्क हुन नसकेको उनले बताए।
सम्पर्कविहीन हुनेहरूमा पोखरा महानगरपालिका–१४ खसिबजार निवासी २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ रहेका छन्।
प्रहरीले बिहान ११ बजे उनीहरू हराएको सूचना प्राप्त गरेलगत्तै खोजी टोली परिचालन गरिएको जनाएको छ। घटनास्थलमा प्रहरीसँगै स्थानीय पर्यटन व्यवसायी तथा स्थानीयवासीको टोली पनि खोजी कार्यमा जुटेको छ।
प्रहरीका अनुसार उक्त क्षेत्रमा मोबाइल नेटवर्क कमजोर हुने भएकाले उनीहरूको लोकेसन ट्र्याक गर्न कठिनाइ भइरहेको छ। खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
