दाङ । तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका एक युवक मोटरसाइकल दुर्घटनामा मृत फेला परेका छन्।
मृतक स्थानीय २८ वर्षीय राजेन्द्र केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए।
प्रहरीका अनुसार केसी आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकलसहित सडक किनारमा खुट्टा च्यापिएको अवस्थामा मृत फेला परेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल छिमेकीको घरको भित्तामा ठोक्किएर गेटमा लागेपछि उनी सडक किनारमा पल्टिएको अनुमान गरिएको छ।
डीएसपी पराजुलीका अनुसार दुर्घटनाका बेला उनले हेलमेट नलगाएकाले गम्भीर चोट लागेको देखिएको छ।
प्रहरीका अनुसार दुर्घटना बिहीबार राति करिब ११:१५ बजे भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे राति कसैले थाहा नपाएपछि शुक्रबार बिहान दूध वितरण गर्न आएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए।
परिवारका एक्ला सन्तान रहेका केसी अटो चालकका रूपमा कार्यरत थिए। पेट्रोल सकिएपछि पेट्रोल ल्याउन भन्दै घरबाट मोटरसाइकल लिएर सुकौरातर्फ गएका उनी फर्किने क्रममा घर नजिकै दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
