सिओल । बाटो बिराएर चन्द्रमामा ठोक्किएको स्पेसएक्स रकेटको दुर्घटनास्थलको पहिलो तस्बिर दक्षिण कोरियाली भूउपग्रहले खिचेको छ।
कोरिया एरोस्पेस रिसर्च इन्स्टिच्युटको ‘दानुरी’ अन्तरिक्षयानले बुधबार फाल्कन ९ को माथिल्लो भाग चन्द्रमामा दुर्घटनाग्रस्त भएपछि त्यस क्षेत्रमा उडान भरेको थियो । दानुरीले चन्द्रमाको कक्षबाट खिचेका तस्बिरहरू अन्तरिक्ष एजेन्सीले बिहीबार सार्वजनिक गरेको हो।
रकेट ठोक्किएर खाल्डो बनेको र धुलो तथा चट्टानहरू चारैतिर फैलिएको ठाउँको सतह स्पष्ट रूपमा देखिएको छ। कोरियाली अन्तरिक्ष अधिकारीहरूले दानुरीले दुर्घटना हुनुअघि र पछिका तस्बिरहरू सङ्कलन गरेको बताएका छन्।
नासाले दुर्घटनापछिको अवस्था हेर्न अर्को साता आफ्नो लुनार रेकोनेसेन्स अर्बिटरलाई दुर्घटनास्थलमा पठाउने अपेक्षा गरेको छ। इलोन मस्कको स्पेसएक्सले सन् २०२२ मा केप कानाभेरलबाट दानुरीको प्रक्षेपण गरेको थियो।
उक्त कम्पनीले गत वर्ष दुई वटा निजी लुनार ल्यान्डरहरू पनि चन्द्रमामा पठाएको थियो। सोही प्रक्षेपणको माथिल्लो भाग यो साता ८,७०० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमामा ठोक्किएको हो।
सौर्य गतिविधि र गुरुत्वाकर्षणका कारण रकेट दुर्घटनाग्रस्त हुने बाटोमा पुगेको स्पेसएक्सले जनाएको छ।
