• Monday 5th of October 2026

पञ्जाबबाट घर फर्किंदै गरेका नेपाली सवार अटो दुर्घटनामा एक युवाको मृत्यु


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा/रौतहट । रोजगारीका लागि भारतको पञ्जाब पुगेका नेपालीहरू घर फर्किने क्रममा सीमावर्ती भारतीय बजार ढाकामा भएको भीषण अटो दुर्घटनामा सर्लाहीका एक युवाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

दुर्घटनामा सर्लाहीको धनकौल गाउँपालिका–४ निवासी लगन राम भनिने ढुनमुन रामका ३२ वर्षीय छोरा अजय रामको मृत्यु भएको हो। शनिबार बिहान करिब ५ बजे उनीहरू सवार अटो दुर्घटनामा परेको थियो ।

 

अजयसहित उनीहरू पञ्जाबमा दैनिक ज्यालादारीमा कृषि तथा खेतीपातीको काम गर्दै आएका थिए। रोजगारी सकेर घर फर्किने क्रममा सीमावर्ती क्षेत्रमा आइपुगेपछि उनीहरू सवार अटो दुर्घटनामा परेको बताइएको छ।

 

दुर्घटनामा उमेश राम, नर्सिङ राम, प्रमोद राम, चुनचुन राम, दिलीप राम र नवीन माझी घाइते भएका छन्। घाइते सबैको भारतस्थित सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ। दुर्घटनामा ज्यान गुमाएका अजय रामको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल ढाका लगिएको छ। 

 

विदेशमा पसिना बगाएर परिवारको गुजारा चलाउन बाध्य नेपाली मजदुर घर फर्किने क्रममा ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै स्थानीयस्तरमा चिन्ता व्यक्त गरिएको छ। समाजसेवी रामशरण यादवले मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन तथा अजयको शव नेपाल ल्याउने प्रक्रिया सहज बनाउन नेपाल सरकारसँग माग गरेका छन्।

 

उनले भारतमा रोजगारी गरेर फर्किने नेपाली नागरिक दुर्घटनामा पर्दा उद्धार, उपचार तथा शव नेपाल ल्याउने प्रक्रियामा परिवारले झेल्नुपर्ने समस्या अन्त्य गर्न सरकारले सीमावर्ती क्षेत्रमा प्रभावकारी संयन्त्र बनाउनुपर्ने बताए र रोजगारीका लागि विदेशिएका नेपालीको ज्यानै जाने गरी भएका यस्ता दुर्घटनापछि परिवारले राहत र शवका लागि समेत धाउनुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने उनको माग छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖