• Monday 5th of October 2026

नक्कली श्रम स्वीकृति बनाएर २ लाख ५५ हजार ठगी गर्ने पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नक्कली श्रम स्वीकृति बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–९ मा बस्दै आएका ३७ वर्षीय फजले रसुल रहेका छन्।

प्रहरीका अनुसार रसुलले पीडितलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै वैदेशिक रोजगार विभाग, ताहाचलबाट जारी हुने श्रम स्वीकृतिको नक्कली अनुमति पत्र बनाएका थिए। उक्त नक्कली कागजात देखाएर उनले पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिई ठगी गरेको आरोप छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले रसुललाई बिहीबार काठमाडौँ महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो।

पक्राउ परेका रसुललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖