काठमाडौँ । ललितपुरको कुपण्डोलमा घरमै सीसीटीभी जडान गरी कुकुरसमेत राखेर लागुऔषध खैरो हेरोइन कारोबार गर्ने एक युवक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोले शनिबार गरेको अपरेसनमा ललितपुर महानगरपालिका–१ का २९ वर्षीय प्रज्वल केसी पक्राउ परेका हुन्। ब्युरोका अनुसार उनले पक्राउबाट बच्न घरमा कडा सुरक्षा व्यवस्था मिलाएर खैरो हेरोइनको कारोबार गर्दै आएका थिए।
ब्युरोका एसएसपी सुबास बोहराका अनुसार केसीलाई पक्राउ गर्न प्रहरीले घरका चारवटा फलामे गेट तोड्नुपरेको थियो। उनको साथबाट ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ।
अनुसन्धानका क्रममा केसीले कारोबारका लागि फरक–फरक सिमकार्ड प्रयोग गर्ने गरेको र उनका साथबाट पाँचवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरमा तीनवटा फलामे गेट राखिएका थिए भने चारवटा सीसीटीभी क्यामेराबाट घर वरपरको गतिविधि निगरानी गरिन्थ्यो। सुरक्षाका लागि उनले दुईवटा कुकुरसमेत पालेका थिए।
खैरो हेरोइन खरिद गर्न जाने व्यक्तिसँग केसी प्रत्यक्ष भेट नगर्ने गरेको अनुसन्धानबाट खुलेको छ। सीसीटीभीमार्फत खरिदकर्ता पहिचान गरेपछि उनले सहयोगीमार्फत लागुऔषध उपलब्ध गराउने गरेको प्रहरीको भनाइ छ।
यसअघि पनि लागुऔषध मुद्दामा जेल बसेका थिए
प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार केसी यसअघि पनि लागुऔषध मुद्दामा जेल परिसकेका व्यक्ति हुन्। उनी २०७९ भदौदेखि २०८२ चैतसम्म करिब ३ वर्ष ६ महिना कैद बसेका थिए।
२०७९ जेठ २७ गते २ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका केसीले नक्खु र भीमफेदी कारागारमा कैद भुक्तान गरेका थिए। उनी २०८२ चैत १९ गते जेलबाट छुटेको प्रहरी अभिलेखमा उल्लेख छ।
प्रहरीका अनुसार जेलमा रहँदा चिनजान भएका व्यक्तिमार्फत सम्पर्क स्थापित गरी उनले पुनः खैरो हेरोइन कारोबार सुरु गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनले विराटनगरबाट खैरो हेरोइन ल्याएर काठमाडौँ उपत्यकामा बिक्री गर्ने गरेको बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
