कास्की । सामाजिक सञ्जालमार्फत हुने साइबर ठगीको नयाँ शैली कास्कीमा देखिएको छ। फेसबुकबाट चिनजान भएको अपरिचित व्यक्तिको प्रलोभनमा पर्दा एक महिलाले ३१ लाख रुपैयाँ गुमाएकी छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बेलायतको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित र बेलायतमा ठूलो सम्पत्ति भएको भन्दै ती महिलासँग मित्रता गाँसेका थिए। उनले बेलायतको सम्पत्ति बेचेर नेपाल आउने, घरजग्गा किनेर महिलासँगै जीवन बिताउनेलगायतका आश्वासन दिएका थिए।
विश्वास दिलाउन उनले विमानस्थलका भिडियो पठाउनुका साथै भिडियो कलसमेत गर्ने गरेका थिए। केही समयपछि आफू भारत हुँदै नेपाल आउन लागेको भन्दै ती व्यक्तिले महिलालाई जानकारी गराए।
त्यसपछि भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल तस्बिर भएको अर्को ह्वाट्सएप नम्बरबाट महिलालाई फोन आयो। फोन गर्ने व्यक्तिले उनका ‘साथी’ ठूलो परिमाणको नगद तथा सम्पत्तिसहित पक्राउ परेको र उनलाई छुटाउन भन्सार तथा जरिवानाबापत रकम आवश्यक पर्ने बताए।
त्यसपछि महिलाले पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन्। आफू ठगिएको आशङ्का भएपछि उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। प्रहरीले अनुसन्धानपछि घटना ठगी भएको पुष्टि गर्दै थप रकम नपठाउन सचेत गरायो।
तर ठगले भावनात्मक दबाब सिर्जना गर्दै ‘अब छुट्न लागेको’ र बाँकी २२ लाख रुपैयाँ दिएपछि सबै सम्पत्ति लिएर नेपाल आउने बताएपछि महिलाले प्रहरीको चेतावनीका बाबजुद थप २२ लाख रुपैयाँ पठाइन्। यसरी उनले कुल ३१ लाख रुपैयाँ गुमाइन्।
भारतीय प्रहरीसँगको समन्वयमा उक्त व्यक्ति आपराधिक गतिविधिमा संलग्न रहेको पुष्टि भएपछि मात्र आफू ठगीमा परेको महिलाले थाहा पाएकी थिइन्।
कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार यो अनलाइन ठगीको एउटा उदाहरण मात्र हो। सामाजिक सञ्जालमार्फत सस्तो सामानको विज्ञापन गर्ने, बैंक वा डिजिटल वालेटका कर्मचारी बनेर ओटीपी माग्ने, आफन्तको सामाजिक सञ्जाल ह्याक गरी रकम माग्ने तथा वैदेशिक रोजगारी र आकर्षक लगानीको प्रलोभन देखाएर रकम असुल्ने प्रवृत्ति बढिरहेको छ।
प्रहरीले अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, बैंक खाता, पिन तथा ओटीपी कसैलाई नदिन, शंकास्पद लिंक नखोल्न र अनधिकृत एप डाउनलोड नगर्न आग्रह गरेको छ। अनलाइन कारोबार गर्नुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गर्न तथा ठगीको शङ्का लागेमा तत्काल प्रहरीमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
