काठमाडौँ । काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त बालाजुबाट खटिएको खोजतलास टोलीले साउन २२ गते नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–५, उदयपुर घर भई हाल नयाँ बसपार्क बस्ने ३१ वर्षीय चुरन मगर, शुक्लागण्डकी नगरपालिका–५, तनहुँ घर भई गोंगबु बस्ने ३३ वर्षीय राजकुमार गुरुङ, बर्दिवास नगरपालिका–३, महोत्तरी घर भई नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप नगरपालिका–५ का ३१ वर्षीय विजय बाबु घिसिङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ७ थान मोबाइल, ५७ हजार ९६ रुपैयाँ नगद, २ थान ताल्चा र १ थान ह्याक्सो ब्लेड बरामद भएको छ।
साउन २२ गते दिउँसो वनस्थली क्षेत्रमा लुटपाट गरी फरार भएका उनीहरूलाई घटनापछि केही समयमै प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
