बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा भारतीय कारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
ठाकुरद्वाराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR02CB2528 कारले सोही दिशातर्फ जाँदै गरेको भे १४ प ८९८९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो।
प्रहरीका अनुसार कार बारबर्दिया नगरपालिका–३ निवासी २९ वर्षीय राघव ढकालले चलाएका थिए भने मोटरसाइकल बढैयाताल गाउँपालिका–२ निवासी ५५ वर्षीय गणेशप्रसाद पाण्डेले चलाएका थिए।
कारको ठक्करबाट पाण्डेको टाउको र पेटमा चोट लागेको थियो। घाइते पाण्डेलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज, बाँके पठाइएकोमा सोही दिन बिहान ११ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र कार चालक ढकाललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
