कञ्चनपुर । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–१ निवासी ३१ वर्षीय पवन श्रेष्ठलाई पक्राउ गरेको हो।
श्रेष्ठलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अदालतबाट सजाय तोकिएपछि फरार रहेका श्रेष्ठको खोजी गर्ने क्रममा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।
पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ। त्यसपछि उनलाई तोकिएको कैद सजाय कार्यान्वयनका लागि कारागार सुरक्षा गार्डको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
