काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन्।
मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले जानकारी दिए।
उनका अनुसार पासवान आफू बस्दै आएको कोठाको पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले घटनास्थलको मुचुल्का उठाएको छ भने शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ।
पासवान यसअघि काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए। सरकारले उक्त बस्तीका टहरा भत्काएपछि उनी पछिल्लो समय बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए।
