• Monday 5th of October 2026

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ


  • धनकुटा खबर
  • .

सिरहा, २९ साउन । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका एक जना प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका अन्दाजी ८० वर्षीय ठकाई यादव रहेका छन्। उनलाई आफ्नै गाउँस्थित मन्दिरमा साधुबाबा (पुजारी) को भेषमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले मन्दिरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०४१ वैशाख १ गते साविक खरुक्याही गाविस–४ मा बैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयमा विवाद उत्पन्न गराई रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरेर हत्या गरिएको थियो। घटनामा ठकाई यादवसहितका व्यक्तिहरू संलग्न रहेको प्रहरीले जनाएको छ।

उक्त मुद्दामा सम्मानित उच्च अदालतले २०४६ पुस २५ गते ठकाई यादवलाई एक वर्ष कैद सजाय हुने फैसला गरेको थियो। फैसला भएपछि उनी फरार रहँदै आएका थिए।

फरार प्रतिवादीको खोजीका क्रममा प्रहरीले उनलाई बुधबार मन्दिरबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार सोही घटनामा संलग्न भई वारदातपछि फरार रहेका अन्य ११ जना प्रतिवादीको भने मृत्यु भइसकेको बुझिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖