• Monday 5th of October 2026

ग्यास बिक्रेता महासंघले भन्यो– सरकार गम्भीर भएन


  • धनकुटा खबर
  • .

काठमाडौं । ग्यास बिक्रेता महासंघले लामो समयदेखि जारी खाना पकाउने ग्यासको अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्नुभन्दा सरकार प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएको हो।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा देशभर खाना पकाउने ग्यासको चरम अभाव रहेको उल्लेख गर्दै लामो समयसम्म ग्यास अभाव हुनुको कारणबारे सरकारको पर्याप्त ध्यान नपुगेको दाबी गरिएको छ।

महासंघले सञ्चारमाध्यम तथा उपभोक्तावादी संघसंस्थाले ग्यास अभावका कारणबारे सार्वजनिक रूपमा जानकारी गराउँदै आए पनि सरकार, नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सम्बन्धित निकायहरू समाधानभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएको छ।

महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात भएको छ। आयातमा आएको यही ठूलो गिरावटका कारण बजारमा ग्यासको अभाव सिर्जना भएको महासंघको दाबी छ।

महासंघले हाल बजारमा आवश्यकताभन्दा बढी अर्थात् करिब ८० लाख सिलिन्डर छरिएर रहेको जनाएको छ।

ग्यास बिक्री वितरणलाई व्यवस्थित गर्न महासंघले ग्यास उद्योग तथा विभिन्न नामका बिक्री केन्द्रबाट हुने बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्रै बिक्री वितरण सहज बनाउनुपर्ने माग गरेको छ।

त्यस्तै, अनुगमनका नाममा ग्यास बिक्रेतालाई दुःख दिने कार्य बन्द गर्नसमेत महासंघले सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖