काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारी तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेर मलेसिया जान लागेको अवस्थामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन्। उनीहरूलाई आइतबार साँझ विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिए।
नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार यात्रुले तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा विदेश लैजान पाउँदैनन्। प्रहरीले बज्राचार्यको साथबाट १२ हजार ३७२ मलेसियन रिंगेट र ४ हजार ३०० अमेरिकी डलर बरामद गरेको छ।
त्यस्तै, पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगेट बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
