• Monday 5th of October 2026

रास्वपा कपुरकोट सभापति वलीको मोटरसाइकल दुर्घटनामा मृत्यु


  • धनकुटा खबर
  • .

सल्यान । मोटरसाइकल दुर्घटनामा घाइते भएका सल्यानको कपुरकोट गाउँपालिका–६ का ३४ वर्षीय वेदबहादुर वलीको उपचारका क्रममा मृत्यु भएको छ। वली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट गाउँपालिकाका सभापति समेत थिए।

दाङको घोराहीस्थित सञ्जिवनी टिचिङ अस्पतालमा उपचाररत वलीको बुधबार बिहान करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिए।

मंगलबार बिहान करिब ११ः४५ बजे राप्ती राजमार्गमा वली सवार बा.६८ प २५२८ नम्बरको मोटरसाइकललाई यात्रुवाहक लु.प्र.०१–००१ ख १११२ नम्बरको गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा वलीसँगै मोटरसाइकलमा सवार उनका काका ५२ वर्षीय शुकलाल वली पनि गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई कपुरकोटस्थित आधारभूत अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको थियो। दाङ आइपुग्दा वेदबहादुरको अवस्था गम्भीर बनेपछि तुलसीपुरस्थित राप्ती लाइभ केयर हस्पिटल हुँदै थप उपचारका लागि घोराही लगिएको थियो। चिकित्सकले नेपालगन्ज लैजान कठिन हुने सल्लाह दिएपछि उनलाई घोराही लगिएको थियो।

शुकलालको टाउकोमा रगत जमेको बताइएको छ। उनको नेपालगन्जमा उपचार भइरहेको छ।

कपुरकोट–६ का वडाध्यक्ष श्यामकृष्ण बोहराका अनुसार काका–भतिजा तरकारीको हरहिसाब बुझ्न कपुरकोटतर्फ जाँदै थिए। उनीहरूले बिहानै हाटबजारमा तरकारी पठाएका थिए।

दुर्घटनामा संलग्न गाडीका चालक दाङको तुलसीपुर उपमहानगरपालिका–११ का २७ वर्षीय सुरज मिजार प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖