• Monday 5th of October 2026

बंगलादेशीले निलेर पेटमा लुकाएर ल्याएको सुन ५ दिनपछि बल्ल शौच गर्दा निस्कियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । बंगलादेशी नागरिकले पेटभित्र लुकाएर ल्याएको सुनजस्तो देखिने पहेँलो धातुका दुईवटा क्याप्सुल पाँच दिनपछि शौच गर्ने क्रममा निस्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ३५ वर्षीय मोहम्मद रसैल हल्दारले पेटभित्र लुकाएर ल्याएको करिब १५० ग्राम सुनजस्तो देखिने धातुका दुईवटा क्याप्सुल पाँच दिनपछि निकालिएको प्रहरीले जनाएको छ।

फ्लाई दुबईको एफजेड–११३३ उडानमार्फत साउन ३१ गते दुबईबाट काठमाडौं आएका हल्दारलाई भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाने क्रममा सादा पोशाकमा खटिएका प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएका थिए।

सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन पेटभित्र लुकाएर ल्याएको स्वीकार गरेपछि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा एक्सरे गरिएको थियो। एक्सरेमा पेटभित्र शंकास्पद वस्तु देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

पाँच दिनपछि शुक्रबार शौच गर्ने क्रममा उनको पेटबाट सुनजस्तो देखिने पहेँलो धातुका दुईवटा क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

बरामद वस्तुसहित हल्दारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖