जापान । जापानको फुकुओकामा अध्ययनसँगै रेस्टुरेन्टमा अंशकालीन काम गर्दै आएकी २५ वर्षीया नेपाली युवती राजवंशी लक्ष्मीको रहस्यमय मृत्यु भएको छ। घटनापछि जापानी प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।
प्राप्त विवरणअनुसार लक्ष्मी अगस्ट १८ गते राति करिब १०ः३० बजे फुकुओकास्थित पार्टटाइम रेस्टुरेन्टको काम सकेर साइकलमा घरतर्फ हिँडेकी थिइन्। तर उनी घर पुगिनन्।
भोलिपल्ट बिहान करिब ५ः४५ बजे एक व्यक्तिले फुकुओकाको व्यस्त क्षेत्र तेन्जिन नजिकै नाका नदीमा उनको शव घोप्टो परेको अवस्थामा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलबाट उनको मोबाइल फोन तथा अन्य व्यक्तिगत सामान भने फेला नपरेको बताइएको छ।
प्रारम्भिक पोस्टमार्टममा लक्ष्मीको टाउकोमा कडा वस्तुले प्रहार गर्दा हुन सक्ने प्रकृतिका धेरै चोट देखिएको उल्लेख छ। उनको हातमा समेत चोटका निशान भेटिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।
अपार्टमेन्टमा रगत र संघर्षका संकेत
प्रहरीले फुकुओकाको चुओ वार्डस्थित लक्ष्मीको अपार्टमेन्टमा अनुसन्धान गर्दा शयनकक्षमा रगतका दाग तथा संघर्ष भएको जस्तो देखिने संकेत फेला पारेको बताइएको छ।
यद्यपि, अपार्टमेन्टका झ्याल तथा ढोका जबरजस्ती तोडफोड गरिएको वा चोरीका लागि कोठा अस्तव्यस्त पारिएको स्पष्ट प्रमाण भने फेला नपरेको विवरणमा उल्लेख छ।
स्थानीय बासिन्दाले अनुसन्धानकर्तासँग राति करिब ११ः३० देखि १२ः३० बजेको बीचमा ठूलो आवाजसहित पानीमा केही खसेजस्तो आवाज सुनेको बताएका छन्।
घटनाको अनुसन्धानका लागि फुकुओका प्रहरीले चुओ प्रहरी स्टेशनमा ७० सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको जनाइएको छ।
राजवंशी लक्ष्मी जापानमा व्यावसायिक कलेजमा अध्ययनरत नेपाली नागरिक थिइन्। अध्ययनसँगै उनी रेस्टुरेन्टमा अंशकालीन काम गर्दै आएकी थिइन्। यसअघि उनले कुनै समस्या वा धम्कीबारे प्रहरीमा उजुरी दिएको विवरण नदेखिएको बताइएको छ।
घटनामा संलग्न व्यक्ति वा व्यक्तिहरूको पहिचान भइसकेको छैन। प्रहरीले लक्ष्मीको मृत्युको कारण, घटनास्थलसम्म पुग्नुको अवस्था तथा घटनाको सम्पूर्ण पृष्ठभूमिबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
