काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिका खुशी खातुनको हत्या उनकै सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
शम्भुनाथ नगरपालिका–३ निवासी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब दुई घण्टापछि उनको शव घरपछाडिको झाडीमा फेला परेको थियो।
घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले बताएका छन्। मुस्कान मृतक बालिकाकी सौतेनी आमा हुन्।
प्रहरीका अनुसार इरफानकी जेठी र कान्छी पत्नीबीच यसअघि विवाद हुँदै आएको थियो। स्थानीयका अनुसार शनिबार पनि दुई महिलाबीच सौता बनेर आएको विषय तथा सम्पत्तिको हकदार को हुने भन्ने विषयमा विवाद भएको थियो। मृतक बालिकाका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका छन्।
इरफानकी जेठी पत्नी र बालिका पुर्ख्यौली घरमा बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान सोही क्षेत्रनजिकै डेरा लिएर बस्दै आएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मुस्कानको संलग्नता देखिएको एसपी खड्काले बताएका छन्। उनका अनुसार बालिकाको शरीरमा बाहिरी घाउचोट देखिएको छैन भने घटनामा एक जनाको मात्र संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मृत बालिकाको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी सुरु गरेको थियो। घटनाको विरोधमा स्थानीयले आइतबार केही समय रुपनी बजारसमेत बन्द गराएका थिए। अहिले रुपनी बजार तथा राजमार्गमा रहेको अवरोध हटिसकेको प्रहरीले जनाएको छ।
यसैबीच, बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले पनि पछिल्लो समय व्यापक चर्चा पाएको छ। उक्त घटनामा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार सुमन थापा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक हुन्। प्रारम्भिक अनुसन्धानमा उनले चकलेट दिएर बालिकालाई फकाएर घटनास्थलमा लगेको र त्यहाँ बलात्कारपछि हत्या गरेको खुलेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताएका छन्। पक्राउ परेका अर्का व्यक्ति उक्त म्याजिकका धनी रहेको प्रहरीले जनाएको छ।
गरिमा घटनालाई लिएर पीडित परिवार र सरकारबीच शनिबार गृह मन्त्रालयमा तीनबुँदे सहमति पनि भएको छ। सहमतिअनुसार सिमरामा गरिमाको सालिक निर्माणका लागि पहल गर्ने तथा नागरिकको अपेक्षाअनुसार कानुन संशोधनका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गर्ने निर्णय भएको छ।
