पर्वत । पर्वतको मोदी गाउँपालिका–२ पातिचौरस्थित एक होटल सञ्चालकको घरबाट करिब १० तोला सुनका गरगहना चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोदी गाउँपालिका–५ बाजुङका करिब ३० वर्षीय खड्कबहादुर कुँवर रहेका छन्।
प्रहरीका अनुसार मोदी गाउँपालिका–२ पातिचौरस्थित देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरको सुत्ने कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब १० तोला सुन चोरी भएको थियो।
चोरीको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा ६ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले खोजतलास गर्ने क्रममा मोदी गाउँपालिका–६ उपल्लो डिमुवाबाट कुँवरलाई चोरी भएको करिब १० तोला सुनका गरगहनासहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
