• Monday 5th of October 2026

स्रोत नखुलेको ३१ लाख नगद सहित चिनियाँ नागरिक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले एक चिनियाँ नागरिकलाई स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा काठमाडौँ महानगरपालिका–१५, चौमतीस्थित घर भाडामा लिएर बस्दै आएका ५२ वर्षीय चिनियाँ नागरिक MA YAGUBI लाई पक्राउ गरेको हो।

ब्यूरोका अनुसार उनी घर भाडामा लिएर लागूऔषध कारोबार गर्दै आएको भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही आधारमा उनको कोठामा खानतलासी गर्दा लागूऔषध भने फेला नपरेको तर स्रोत नखुलेको नेपाली नगद ३१ लाख रुपैयाँसहित विभिन्न सामान बरामद भएको छ।

प्रहरीले YAGUBI को साथबाट नेपाली नगद ३१ लाख रुपैयाँ, पासपोर्ट, सुन काट्न प्रयोग हुने कैँची, ह्याम्मर, डिजिटल तराजु, क्याल्कुलेटर, विभिन्न कम्पनीका चार थान मोबाइल र NIMB बैंकका दुई थान तथा NIC Asia बैंकको एक थान चेकबुक बरामद गरेको जनाएको छ।

पासपोर्ट नम्बर ELI478138 भएका YAGUBI लाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको ब्यूरोले जनाएको छ।

प्रहरी अभिलेखअनुसार उनी हालसम्म ६ पटक नेपाल आएर फर्किएका छन्। पछिल्लो पटक उनी सन् २०२६ जुलाई २३ मा नेपाल आएको देखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖