• Monday 5th of October 2026

हराएकी ११ वर्षीया बालिका सुरक्षित फेला


  • धनकुटा खबर
  • .

बारा । घरबाट निस्किएर सम्पर्कविहीन भएकी ११ वर्षीया बालिका वीरगञ्जस्थित एक बालगृहमा सुरक्षित अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–६ सिदरिया टोलकी गुलाब्सा खातुनकी छोरी सनाया खातुन गत जेठ १७ गते परिवारलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्।

आफन्त तथा छरछिमेकमा खोजी गर्दा पनि बालिका फेला नपरेपछि उनकी आमाले भदौ ९ गते इलाका प्रहरी कार्यालय सिमरामा हुलियासहित खोजीका लागि निवेदन दिएकी थिइन्।

निवेदनपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले बालिकाको घरमा पुगेर उनकी आमा र स्थानीय जनप्रतिनिधिसँग सोधपुछ गर्दै खोजी अघि बढाएको थियो।

खोजीका क्रममा सनाया वीरगञ्जस्थित एक बालगृहमा सुरक्षित रहेको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षा समितिका पदाधिकारी, प्रहरी टोली र बालिकाकी आमा बालगृह पुगेका थिए।

प्रहरीका अनुसार बालिका सकुशल रहेकी छन् र आमाको सहमतिमा बालगृहमा बस्दै आएको पाइएको छ।

सनाया यसअघि पनि दुई पटक घरबाट हराएकी थिइन्। गत फागुनमा हराउँदा इलाका प्रहरी कार्यालय सिमराले फेला पारी परिवारको जिम्मा लगाएको थियो। त्यस्तै, वैशाखमा हराएकी उनलाई जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले फेला पारी आमाको जिम्मा लगाएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराले बालिकाको अवस्था सुरक्षित रहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖