• Monday 5th of October 2026

भोटेकोशी र त्रिशूलीमा भीषण बाढी, हिमताल विस्फोटको आशंका


  • धनकुटा खबर
  • .

काठमाडौँ । रसुवाको सीमावर्ती क्षेत्र टिमुरे हुँदै भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको छ। तिब्बततर्फ हिमताल विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।

नदीको बहाव अचानक बढेपछि विभागले भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार भदौ १० गते बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट टिमुरे नाका हुँदै ठूलो बाढी नेपाल प्रवेश गरेको हो।

वर्षाका कारण नभई नदीमा एक्कासि ठूलो बाढी आएको देखिएकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको पराजुलीले बताए। बाढीको वास्तविक कारण पत्ता लगाउन विभागले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेको उनले जानकारी दिए।

हिमताल विस्फोट भएको हो वा होइन भन्ने पुष्टि गर्न उपग्रहबाट खिचिएका तस्बिरसहित अन्य प्राविधिक माध्यमबाट अध्ययन भइरहेको विभागले जनाएको छ।

विभागले भोटेकोशी र त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा नदीको बहाव नजिक नजान आग्रह गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖