काठमाडौँ । रसुवाबाट आएको बाढी त्रिशूली नदीमा मिसिएपछि नुवाकोटको विदुर नगरपालिका–५ स्थित देवीघाटमा बाढीबाट बच्न रुखमा चढेका दुई जनाको उद्धार गरिएको छ।
नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बाढीबाट जोगिन रुखमा चढेका एक महिला र एक पुरुषलाई स्थानीयको सहयोगमा सशस्त्र प्रहरीले उद्धार गरेको हो।
बाढीको जोखिमलाई मध्यनजर गर्दै देवीघाट क्षेत्रमा हेलिकप्टरसमेत परिचालन गरिएको थियो। उद्धार गरिएका दुवै जनालाई सुरक्षित स्थानमा लगिएको प्रहरीले जनाएको छ।
बुधबार बिहान करिब ९ बजेतिर चीनको तिब्बततर्फबाट ल्हेन्दे खोलाको बहाव अचानक बढेर भोटेकोशी नदीमा मिसिएपछि ठूलो बाढी आएको हो। बाढीका कारण रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति भएको आकलन गरिएको छ।
रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रमा खोज तथा उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
