• Monday 5th of October 2026

रसुवाको बाढीमा रौतहटका चार जना बेपत्ता, थप दुई जनाको विवरण पुष्टि हुँदै


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा,रौतहट, ११ भदौ । रसुवामा आएको विनाशकारी बाढीपहिरोले रौतहटसँग पनि पीडाको सम्बन्ध जोडेको छ। बाढीपहिरोपछि रौतहट घर भएका चार जना सम्पर्कविहीन तथा बेपत्ता रहेको पुष्टि भएको छ भने थप दुई जना सम्पर्कविहीन भएको सूचना आए पनि उनीहरूको अवस्था र विवरण पुष्टि हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

 

जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीनमध्ये दुई जना रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए। एक जना रसुवा बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका थिए भने एक जना नुवाकोटको बेत्रावतीमा बाढीमा बगेर बेपत्ता भएका छन्।

 

सिडियो दिनेश सागर भुसालका अनुसार गरुडा नगरपालिका–१ का ३४ वर्षीय सुधीर कुमार साह सम्पर्कविहीन छन्। उनी दुषण इनरविलिटी कम्पनी लिमिटेडअन्तर्गत २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत थिए। साहसँग सम्पर्क हुन नसकेपछि आफन्त जय विक्रान्त शाहले प्रशासनमा जानकारी गराएका छन्।

 

त्यस्तै, वृन्दावन नगरपालिका–२ का गौरव राउत पनि सोही आयोजनामा तालिम प्राप्त प्राविधिकको रूपमा कार्यरत रहेको र बाढीपछि सम्पर्कविहीन भएको प्रशासनले जनाएको छ।

 

ईशनाथ नगरपालिकाका १९ वर्षीय शेख मजिद पनि रसुवा बजारबाट सम्पर्कविहीन भएका छन्। उनी त्यहाँ मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका थिए। आफन्तका अनुसार भदौ १० गते बिहान करिब ९ बजेदेखि मजिद सम्पर्कमा छैनन्। उनका दाजु शेख नौसादले DEOC रौतहटमा जानकारी गराएका छन्।

 

यस्तै, वृन्दावन नगरपालिका–३ पिपराका ईमराजुल मन्सुरीका करिब १२ वर्षीय छोरा समिर मन्सुरी बाढीमा बगेर बेपत्ता भएका छन्। नुवाकोटको बेत्रावतीमा सिरक–डसनाको व्यवसाय गर्दै आएका मन्सुरीका छोरा समिरलाई भदौ १० गते आएको बाढीले बगाएको र हालसम्म फेला पार्न नसकिएको जनाइएको छ।

 

घटनाबारे स्थानीय पूर्ववडाध्यक्ष सचिन्द्र प्रसाद यादवले DEOC रौतहटलाई जानकारी गराएका हुन्। बेपत्ता बालकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको प्रशासनले जनाएको छ।

 

यसैबीच गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाका एक–एक जना पनि सोही बाढीपछि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिएका छन्। तर उनीहरूको नाम, अवस्था तथा घटनासम्बन्धी विवरण भने अहिलेसम्म पुष्टि हुन सकेको छैन।

 

बाढीपहिरोपछि आफ्ना परिवारका सदस्यसँग सम्पर्क टुटेपछि रौतहटका विभिन्न गाउँ–नगरका परिवारमा चिन्ता बढेको छ। प्रशासनले प्राप्त सूचनाहरू संकलन गर्दै सम्बन्धित निकायसँग समन्वय गरी बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि पहल गरिरहेको जनाएको छ।

 

पुष्टि भएका सम्पर्कविहीन तथा बेपत्ता

– सुधीर कुमार साह, गरुडा–१ — ९८६९६६३६१३
– गौरव राउत, वृन्दावन–२ — ९८४००७२३४५
– शेख मजिद, ईशनाथ नगरपालिका — दाजु शेख नौसाद : ९७०७९७८०२६
– समिर मन्सुरी, वृन्दावन–३, पिपरा — बुबा ईमराजुल मन्सुरी : ९८२११५१७८४

वृन्दावन नगरपालिका विपद् व्यवस्थापन शाखा : ९८५५०४१४८३

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖