काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेका २६ वर्षीय सुमन गोलेको शव नवलपरासीमा फेला परेको छ।
गत बुधबार रसुवामा आएको भोटेकोशी नदीको बाढीमा परी बेपत्ता भएका गोलेको शव नवलपरासीमा फेला परेको हो।
गोले दुई महिनाअघि मात्रै रसुवास्थित जलविद्युत् आयोजनामा काम गर्न गएका थिए। उनी त्यहाँ स्काभेटर चालकका रूपमा कार्यरत थिए। यसअघि उनी हेटौँडा–१५ मै रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरका रूपमा काम गर्दै आएका थिए।
बाढी आउनुअघि परिवारसँग सम्पर्कमा रहेका गोलेले ‘दिउँसो फोन गरौँला’ भनेका थिए। तर, त्यसपछि उनको फोन आउन सकेन। परिवारले पर्खिरहेका गोलेको शव नवलपरासीमा फेला परेपछि परिवारमा शोक छाएको छ।
