चितवन । भोटेकोशीमा आएको भीषण बाढीपछि नारायणी नदीमा फेला परेका बेवारिसे शवहरूलाई चितवनमा जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ।
पहिचान खुल्न नसकेका तथा सडेगलेको अवस्थामा फेला परेका शवलाई आवश्यक प्रक्रिया पूरा गरी देवघाटनजिकैको जंगल क्षेत्रमा गाड्न लागिएको हो। शवको ट्याग लगाउने तथा डीएनए नमुना संकलन गर्ने कामपछि व्यवस्थापन गरिने जनाइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। उनका अनुसार शवहरू भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्डअन्तर्गत जंगल क्षेत्रमा व्यवस्थापन गरिनेछ।
शव व्यवस्थापनका लागि आवश्यक स्थानसमेत तयार पारिसकिएको छ। सुरक्षाकर्मीको उपस्थितिमा दुई वटा डोजर प्रयोग गरी जंगलको बीच भागमा खाल्डा खनिएको छ।
बाढीपछि चितवनमा हालसम्म २ सय ३३ वटा शव फेला परेका छन्। तीमध्ये ६ वटा शवको मात्रै पहिचान खुलेको जनाइएको छ।
