• Monday 5th of October 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाएर ठगी गरेको आरोपमा एक पक्राउ


  • धनकुटा खबर
  • .

रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

उनले ChatGPT को प्रयोग गरी नक्कली भुक्तानी स्टेटमेन्ट तयार गरेको र त्यसमा आफ्नो QR कोडसमेत राखेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रहरीको भनाइ छ।

नक्कली स्टेटमेन्टमा ‘PRIME MINISTER’S DISASTER RELIEF FUND’ का नाममा १ लाख २० हजार रुपैयाँ दान गरिएको देखाइएको थियो। उक्त कारोबार २७ अगस्ट २०२६ मा eSewa मार्फत भएको देखाइएको थियो।

प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीले विपद्को समयमा राहत तथा सहयोगको नाममा सामाजिक सञ्जालमार्फत हुने यस्ता गतिविधिप्रति सचेत रहन र आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖