काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव गोरखामा फेला परेको छ।
भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका विष्टको शव त्रिशूली नदी किनारमा फेला परेको हो। पाल्पाको तानसेन नगरपालिका–१० का ३४ वर्षीय विष्टको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि उनका परिवारले शव बुझेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखामा हालसम्म ५८ वटा शव फेला परेका छन्। तीमध्ये विष्टसहित तीन जनाको मात्रै सनाखत भएको छ।
सनाखत हुने अन्य दुई जनामा इलामको सन्दकपुर गाउँपालिका–३ घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय दीपक भनिने दिवासनन्द सुवेदी र गोरखाको पालुङटार नगरपालिका–६ का यमबहादुर थापा रहेका छन्। उनीहरूको पनि पोखरामा पोस्टमार्टमपछि परिवारलाई शव बुझाइएको प्रहरीले जनाएको छ।
यसैबीच, शव व्यवस्थापनका लागि अन्य विकल्प नभएपछि गोरखामा पहिचान नखुलेका २९ वटा शव गाडेर व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार शहिद लखन गाउँपालिकास्थित बुंकोट घाटमा ती शवलाई व्यवस्थापन गरिएको हो।
पहिचान भएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार शवहरू सुरक्षित रूपमा माटोमुनि गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
