• Monday 5th of October 2026

६० घण्टापछि जीवितै भेटिइन् ६ वर्षीया छोरी,बाबुआमा बाढीको छालले हुत्याएर जोगिए


  • धनकुटा खबर
  • .

### ६० घण्टापछि जीवितै उद्धार भएकी मनिषाको बाबुआमासँग भेट, दुवै पनि बाढीबाट बाँचे

काठमाडौँ । रसुवाको टिमुरेमा बाढीपछि माटोमा पुरिएर ६० घण्टासम्म फसेकी ६ वर्षीया बालिका मनिषा उचाईमगरको बाबुआमासँग सम्पर्क भएको छ। सशस्त्र प्रहरीको टोलीले बालिकालाई जीवितै उद्धार गरेपछि उनका बाबुआमा पनि बाढीबाट जोगिएको खुलेको हो।

सशस्त्र प्रहरी बलको टिमुरेस्थित बीओपी (बोर्डर आउट पोस्ट) टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि खोजी तथा उद्धार सुरु गरेको थियो। करिब ६० घण्टापछि उनीहरू बालिकासम्म पुग्न सफल भएका थिए।

सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार बालिकाको टाउकोबाहेक शरीरका अधिकांश भाग माटोले पुरिएको थियो। काठको टाँड परेका कारण उनको टाउकोको केही भाग भने माटोले पुरिनबाट जोगिएको थियो। त्यही स्थानबाट आवाज आएपछि उद्धार टोलीले उनलाई जीवितै बाहिर निकालेको हो।

उद्धारपछि बालिकालाई टिमुरेस्थित बीओपीमा राखेर सशस्त्र प्रहरीले प्राथमिक उपचार गरेको थियो। रातभर प्राथमिक उपचार गरेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई धुन्चे लगिएको थियो। स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई काठमाडौँ ल्याएर उपचार भइरहेको छ।

मनिषाका बाबुआमा पनि बाढीबाट जोगिएर अहिले उपचाररत छन्। डीआईजी कार्कीका अनुसार मनिषाकी आमा गीता उचाईमगर टिमुरेस्थित ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारी रहेको खुलेको छ।

मनिषाका बाबुआमाले बाढीको भीषण भेलले आफूहरूलाई भित्तामा फ्याँकिदिएपछि ज्यान जोगाउन सफल भएको सुरक्षाकर्मीलाई बताएका छन्। उनीहरूलाई आफ्नी छोरी ६० घण्टापछि जीवितै उद्धार भएको जानकारीसमेत छ।

हाल मनिषा र उनका बाबुआमाको उपचार एउटै अस्पतालमा भइरहेको जनाइएको छ।

मनिषाको उद्धार गर्ने टिमुरे बीओपीमा कार्यरत ९ जना सशस्त्र प्रहरी भने अझै सम्पर्कविहीन छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖