काठमाडौ । बाढीले पुरिएको करिब ६० घण्टापछि सकुशल उद्धार गरिएकी बालिकाको आमाबुबासँग भएको पुनर्मिलनको कथा निकै मार्मिक छ।
गीता बिहान ८ बजे नै कार्यालय गएकी थिइन्। हाइड्रोपावरमा काम गर्ने उनका श्रीमान् लोकबहादुर भने भर्खरै उठेकी छोरीलाई बिस्कुट दिएर धनियाँ टिप्न बारीतर्फ लागेका थिए।
लोकबहादुर बारी पुगेको केही समयमै माथिबाट एक्कासि ठूलो बाढी आयो।
‘म त्यहाँ पुगेपछि मास्तिरबाट एक्कासि सुनामी आएजस्तो भयो। घरहरू पल्टाउन थाल्यो। हेर्दाहेर्दै हाम्रो टहरो र घरबेटीको ठूलो घर पनि गम्र्याङगुम्रुङ पल्टियो। मेरो त दिमागले कामै गरेन,’ उनले सुनाए।
बाढी आएको देखेपछि लोकबहादुर एकपटक छोरीलाई लिन घरतर्फ जान खोजेका थिए। तर वरपरका मानिसहरूले उनलाई रोकेर जबर्जस्ती सुरक्षित स्थानतर्फ लगे।
‘एक पटक छोरी लिन जान खोजेको थिएँ। अरूले रोके, तानेर मास्तिर लगे। त्यसपछि मेरो होसले काम गरेन। सबै अँध्यारो देखेँ,’ उनले भने।
करिब एकदेखि डेढ घण्टापछि लोकबहादुरले अर्कै व्यक्तिको फोनबाट पत्नी गीतालाई सम्पर्क गरे।
फोन उठेपछि उनले यति मात्रै भन्न सके, ‘नानी निकाल्न सकिनँ।’
यो खबर सुनेपछि गीता आत्तिइन्। उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगिन्।
‘मलाई केही चाहिँदैनथ्यो, त्यति बच्चा मात्रै थुतेको भए हुन्थ्यो,’ गीताले भनिन्।
फोन काटेपछि उनी त्यहीँ चिच्याउँदै रुँदै थिइन्।
‘म सकिएँ। रित्तिएँ। म पनि नबाँचेको भए हुन्थ्यो। नानी छैन भन्ने थाहा भएको भए म किन भाग्थेँ?’
छोरीलाई गुमाएको ठानेर आश मारिसकेका आमाबुबाका लागि चार दिनपछि आएको एउटा खबरले भने सबै पीडा र निराशालाई एकैछिनमा खुसीमा बदलिदियो। बाढीले पुरिएको करिब ६० घण्टापछि उनकी छोरीको सकुशल उद्धार भएको खबर उनीहरूले पाए।
आशा लगभग समाप्त भइसकेको अवस्थामा आएको त्यो खबर उनीहरूका लागि जीवनकै सबैभन्दा ठूलो खुसी बन्यो।
