• Monday 5th of October 2026

सरकारी सेवामा प्रवेश गरेको पाँच महिना नपुग्दै रसुवाको बाढीमा ज्यान गुमाएका २१ वर्षीय आयुषको देवघाटमा अन्त्येष्टि


  • धनकुटा खबर
  • .

चितवन । सल्यानका २१ वर्षीय आयुष खड्काले सरकारी सेवामा प्रवेश गरेको पाँच महिना नपुग्दै विनाशकारी बाढीमा ज्यान गुमाएका छन्।

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा उनको पहिलो पोस्टिङ रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा भएको थियो। स्नातक तहको परीक्षा दिन दुई दिनपछि गृहजिल्ला सल्यान जाने तयारीमा रहेका आयुष भदौ १० गते बिहान बाढीमा परेका थिए।

बाढीमा बेपत्ता भएका उनको शव पाँच दिनपछि फेला परेको थियो। शव घरसम्म लैजान सक्ने अवस्था नरहेपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमा अन्त्येष्टि गरिएको आयुषका काका रमेश खड्काले बताए।

काका रमेशका अनुसार आयुषले सरकारी सेवामा प्रवेश गरेपछि अधिकृत बन्ने लक्ष्य राखेका थिए। परिवारले ‘लोकसेवामा नाम निस्किसकेको छ, काम गर्दै पढ्नू’ भनेपछि उनी रसुवा पुगेका थिए।

‘पढ्नमा साह्रै रुचि राख्थ्यो। खरिदार हुँदिनँ, म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ रमेशले सम्झिए।

बागचौर नगरपालिका–१० पिपलनेटाका आयुष खड्का परिवारका जेठा छोरा थिए। उनी भदौ १२ गते काठमाडौँ आउने र त्यसपछि भदौ १६ गते स्नातकको परीक्षा दिन गृहजिल्ला जाने योजनामा थिए। तर, घर फर्किने तयारी गरिरहेकै बेला बाढीमा परेर उनको ज्यान गयो।

रसुवाको पोस्टिङमा जान आयुषले सुरुमा खासै रुचि नदेखाएको भए पनि परिवारको सल्लाहपछि उनी त्यहाँ पुगेका थिए।

आयुषका परिवारमा बुवा, आमा र बहिनी छन्। उनी बाढीमा परेको खबर पाएपछि आमा मुना बेहोस भएकी थिइन्। सोमबार देवघाटमा अन्त्येष्टि भइरहँदा पनि आमा मुना र बहिनी आयुषा भावविह्वल बनेका थिए। आफन्तहरूले उनीहरूलाई सम्हालेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖