• Monday 5th of October 2026

बेपत्ता हुनुअघि शिवकाे त्यो स्ट्याटस : ५ नेपाली सहित ७ विदेशी अझै सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

काठमाडौँ । कैलाश मानसरोवर यात्रामा निस्किएका नवलपरासी पश्चिमका एक व्यवसायी रसुवागढी नाकाबाट बेपत्ता भएका छन्।

सुनवल नगरपालिका–१२ भूमही, नवलपरासी पश्चिमका शिव न्यौपाने भदौ १० गते बिहान रसुवागढी नाका पुगेका थिए। केरुङ नाका पुगेपछि उनले सामाजिक सञ्जालमा कैलाश मानसरोवर यात्रालाई आफ्नो ‘जीवनको एउटा ठूलो सपना र इच्छा’ भन्दै स्ट्याटस लेखेका थिए।

‘जहाँ शब्दहरू मौन हुन्छन्, जहाँ मन शान्त हुन्छ, जहाँ आत्माले महादेवलाई महसुस गर्छ, त्यही हो कैलाश’ भन्दै उनले धार्मिक यात्राबारे उल्लेख गरेका थिए।

तर, उक्त स्ट्याटस पोस्ट गरेको केही समयमै न्यौपाने रसुवागढी क्षेत्रबाट सम्पर्कविहीन भएको उनका परिवारले जनाएको छ।

शिवका भाइ जीवन न्यौपानेका अनुसार उनी भदौ ९ गते बिहान करिब ७ बजे काठमाडौँको कलंकीबाट कैलाश मानसरोवर यात्राका लागि हिँडेका थिए। सोही दिन बेलुकी उनी स्याफ्रुबेँसीमा बसेका थिए।

शिवका श्रीमती, एक छोरा, एक छोरी र आमा छन्। परिवारले उनी बेपत्ता भएपछि खोजी तथा अवस्थाबारे जानकारीका लागि पहल गरिरहेको जनाएको छ।

शिवसँगै रसुवागढी क्षेत्रबाट पाँच जना नेपाली र सात जना विदेशी नागरिक पनि बेपत्ता भएको बताइएको छ। बेपत्ता नेपालीमा शिव न्यौपानेसहित सुकुमान तामाङ, राजेश तिमल्सिना, प्रकाशकुमार तामाङ र शिशिर तामाङ रहेका छन्।

त्यसैगरी बेपत्ता विदेशी नागरिकहरू लात्भिया, रुस र कजाकिस्तानका रहेको जनाइएको छ।

भदौ १० गते रसुवागढी क्षेत्रमा भएको घटनापछि उनीहरूको अवस्था अझै अज्ञात रहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖