रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार २९० जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बाढीपहिरोमा ठूलो मानवीय क्षति भएको छ भने अझै ४ हजार ७९८ जना बेपत्ता छन्।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। त्यस्तै ५३२ वटा मानव शरीरका आंशिक अंग फेला परेका छन् भने अस्पतालमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको छ।
फेला परेका शवमध्ये हालसम्म ९२६ वटाको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
विपद्मा परी बेपत्ता भएकामध्ये २ हजार ८४७ जना नेपाली र ६०१ जना विदेशी नागरिक रहेका छन्। त्यस्तै १ हजार ३५० जनाका सम्बन्धमा फोनमार्फत जानकारी प्राप्त भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
सुरक्षाकर्मीको सक्रियतामा हालसम्म ८ हजार १२७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ हजार ९० पुरुष र २ हजार ४७२ महिला रहेका छन्।
यसैबीच, फेला परेका मृतकमध्ये १ हजार १४१ जनाको अझै पहिचान हुन सकेको छैन। शवको पहिचानका लागि प्रहरीले मृतकका १ हजार १४३ र आफन्तका ७१९ गरी कुल १ हजार ८६२ वटा डीएनए नमुना संकलन गरेको जनाएको छ।
पहिचान हुन नसकेका शवहरूको विवरण प्रहरीले आफ्नो वेबसाइटमा समेत सार्वजनिक गरेको छ। खोज, उद्धार तथा शव पहिचानको कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।
