काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि एक जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा आयोजनाको कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत सञ्जय साह रहेका छन्।
उद्धारपछि अस्पताल लैजाने क्रममा नेपाली सेनाका अधिकारीहरूसँग संक्षिप्त कुराकानी गर्दै साहले घटनाका बेला आयोजनाभित्र सामान्य समयभन्दा धेरै मानिस रहेको बताएका छन्। उनका अनुसार त्यस दिन आयोजनाभित्र करिब ४०–४५ जना कामदार थिए।
साहले आफू कन्ट्रोल रुममा रहेकाले दुर्घटनापछि सबैलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको बताए। उनले भने, ‘त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। मैले सबैलाई भनेँ– ठूलो एक्सिडेन्ट भयो ड्याममा। अनि सबैलाई भाग्न लगाएँ बाहिर।’
सबैलाई बाहिर जान लगाउँदा आफ्नो समय बितेको र अन्तिममा आफू भने बाहिर निस्कन नसकेको उनले बताए।
‘४०–५० जना काम गरेकालाई भगाइयो। हाम्रो सम्पर्कमा रहेका र साथीहरूसँग कुरा भएका ३–४ जना मात्रै थियौँ,’ उनले भने।
साहले पावर हाउसतर्फ समेत केही मानिस फसेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। सुरुङ लामो भएकाले भित्र रहेका सबैजना बाहिर निस्कन नसकेको हुन सक्ने र पानीको तीव्र बहावले सुरुङभित्र थप असर गरेको हुन सक्ने उनको भनाइ छ।
‘भित्रपट्टि पावर हाउसमा पनि मान्छेहरू हुन सक्छ होला। सबै भाग्न नसकेको होला। टनेल लामो छ। टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसक्या होला,’ उनले भने।
नेपाली सेनाका अधिकारीहरूले ९ दिनपछि जीवितै बाहिर निस्कनु दोस्रो जीवन पाउनुजस्तै भएको भन्दै साहलाई बधाइ दिएका थिए।
त्यस क्रममा साहले आफूलाई उद्धार गरिएको दिनबारे सोध्दै भने, ‘आज कति… १९ गते हो?’ सेनाका अधिकारीले ‘हो, १० गते छिर्नुभएको तपाईं’ भनेपछि उनले घटनाको समयसमेत सम्झिए।
‘१० गते १० बजे एक्सिडेन्ट भएको थियो। हामी टाइम नोट गर्छौँ कन्ट्रोल रुममा। हामी महामन्त्र ईश्वर जप गर्दै थियौँ भित्र… हरे कृष्ण…,’ साहले भने।
बाढीपछि सुरुङभित्र फसेका साहलाई लामो प्रयासपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले जीवितै बाहिर निकालेको हो। उद्धारपछि उनको स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल लगिएको छ।
