काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा राज्य सञ्चालनको शैलीलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले वर्षौँदेखि वास्तविक अवस्था नबुझी मन्त्रालयको कुर्सीबाट मात्र नेतृत्व गर्ने प्रवृत्तिको परिणाम मुलुकले भोग्दै आएको बताएका छन्।
उनले पुरानै प्रणालीबाट फरक र उत्कृष्ट परिणामको अपेक्षा गरिरहँदा केही व्यक्तिले भने आफूहरूलाई पुरानै शैलीमा काम गर्न दबाब दिइरहेको भन्दै आश्चर्य व्यक्त गरेका छन्।
‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ,’ गुरुङले भनेका छन्, ‘यो जेनेरेसन ग्याप हो।’
गृहमन्त्री गुरुङले विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको भन्दै यसको प्रभावकारितामाथि अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन्।
उनका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा कमान्ड सेन्टर सञ्चालन भइरहेको छ। अनलाइन माध्यमबाट हरेक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक गरिँदै आएको उनले बताएका छन्।
डिजिटल प्रविधिको प्रयोगका कारण प्रशासनिक तथा उद्धारसम्बन्धी काम विगतमा जस्तो टेबल पछाडि बसेर मात्र नभई छिटो र प्रभावकारी रूपमा भइरहेको उनको दाबी छ।
‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु,’ आलोचकप्रति लक्षित गर्दै गुरुङले भनेका छन्।
उनले नयाँ प्रणालीबाट फरक र उत्कृष्ट परिणाम खोज्ने तर काम गर्ने शैली भने पुरानै अपनाउन दबाब दिने प्रवृत्तिप्रति समेत प्रश्न उठाएका छन्।
‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ,’ उनले भनेका छन्।
