दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खस्दा नदी आधा थुनिएको छ।
माथिबाट पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
नदी थुनिएर पानीको बहाव अचानक बढ्न सक्ने र त्यसबाट बाढीको जोखिम निम्तिन सक्ने भन्दै प्रशासनले चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न नदी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन आवश्यक छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै नदीको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राखी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।
प्रशासनका अनुसार वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग आवश्यक परे १२३४ (DEOC), नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपाल १११४ मा सम्पर्क गर्न सकिनेछ।
विपद्का समयमा कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनसमेत प्रशासनले आग्रह गरेको छ।
