• Monday 5th of October 2026

बाढीपीडित बालबालिकालाई बालेनको भरोसा : ‘फेरि सपना बुन्ने वातावरण बनाउँछौँ’


  • धनकुटा खबर
  • .

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई सम्झिँदै विपद्को पीडामा रहेका नानी–बाबुहरूप्रति भावुक सन्देश दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले जन्माष्टमीका दिन अधिकांश बालबालिका राधा–कृष्णको भेषमा रमाइरहँदा बाढी प्रभावित क्षेत्रका बालबालिका भने पीडामा रहेको उल्लेख गरेका छन्।

‘आज श्रीकृष्ण जन्माष्टमी। स–साना नानी–बाबुहरू राधा–कृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो,’ उनले लेखेका छन्, ‘तर, यसपालिको यो उत्सवमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानी–बाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ।’

उनले बाढीका कारण कतिपय बालबालिकाका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेको हुन सक्ने भन्दै प्रभावित बालबालिकाको अवस्थाप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले बाढीपछि गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकालाई पनि उद्धारमा पहिलो प्राथमिकता दिइएको बताएका छन्। प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका होल्डिङ सेन्टरमा बालबालिका बसिरहेको र उनीहरूको सुरक्षित तथा सहज बसोबासका लागि सरकारले काम गरिरहेको उनको भनाइ छ।

‘हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ,’ शाहले भनेका छन्।

उनले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढिरहेको उल्लेख गर्दै नेपालले भोगिरहेको विपद् र जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्ने बताएका छन्।

बालबालिकालाई विपद् पूर्वतयारीमा जोडिन आग्रह गर्दै उनले घरमा ‘विपद् झोला’ तयार राख्न, सानैदेखि बचत गर्ने बानी बसाल्न तथा जलवायु परिवर्तनबारे अध्ययन र छलफल गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री शाहले दैनिक एक रुपैयाँ बचत गर्दा एक वर्षमा नेपालभर कति रकम जम्मा होला भन्ने हिसाब बालबालिकालाई आफैँ गर्नसमेत आग्रह गरेका छन्।

उनका अनुसार विपद्का बेला अहिलेसम्म १३ हजार ९५ जनाको उद्धार भइसकेको छ। उद्धार कार्यमा ज्यानको पर्वाह नगरी खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत विज्ञ टोलीलाई उनले धन्यवाद दिएका छन्।

यस्तै, विदेशमा रहेका नेपाली, मित्रराष्ट्र तथा विकास साझेदार संस्थाले विपद्का बेला गरेको सहयोगप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

‘विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ,’ उनले लेखेका छन्।

श्रीकृष्णको शिक्षालाई स्मरण गर्दै प्रधानमन्त्री शाहले संघर्ष र विपद्का समयमा निराश भएर बस्न नहुने बताएका छन्।

‘धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं,’ उनले भनेका छन्।

उनले सबैलाई मिलेर विपद्को सामना गर्दै सुरक्षित र उज्यालो नेपालको निर्माणमा जुट्न आह्वान गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖