• Monday 5th of October 2026

कुशको शव बनाएर दाहसंस्कार गरिएकी चण्डिका ११ दिनपछि जीवितै भेटिइन्


  • धनकुटा खबर
  • .

काठमाडौं । नुवाकोटको बेत्रावतीमा भदौ १० गते आएको भीषण बाढीमा बेपत्ता भएकी चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै भेटिएपछि परिवारमा खुसी फर्किएको छ। अहिले उनको नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको छ।

बाढीमा परेर बेपत्ता भएकी चण्डिकालाई शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घरको भग्नावशेषबाट जीवितै उद्धार गरेको हो।

तर, चण्डिका लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवारले उनको मृत्यु भएको ठानेर आठौँ दिनमै कुशको शव बनाएर दाहसंस्कार गरिसकेको थियो।

चण्डिकाका सम्धी रमेशमान श्रेष्ठका अनुसार आठ दिनसम्म लगातार खोजी गर्दा पनि कुनै सुराक नपाएपछि परिवारले काजकिरिया सुरु गरेको थियो।

“आठौँ दिनसम्म पनि नभेटिएपछि काजकिरिया सुरु गरिएको थियो,” उनले बताए।

उनका अनुसार परिवारका सदस्यहरू चण्डिकाको खोजीमा लगातार जुटेका थिए। तर आठौँ दिनसम्म पनि कुनै संकेत नपाएपछि सानो भर्‍याङस्थित घरमा काजकिरिया सुरु गरिएको थियो।

त्यसपछि परिवारका सदस्यले आपसी सल्लाहमा कुशको शव बनाएर गुहेश्वरीमा दाहसंस्कार गरेका थिए।

“धेरै दिन खोजियो। अब पाइँदैन भनेर फर्किनुभयो। घरका मान्छेले सल्लाह गरेर कुशको शव बनाएर गुहेश्वरीमा दाहसंस्कार गरियो। अनि काजकिरिया गरियो,” श्रेष्ठले भने।

परिवारले मृत्यु भइसकेको ठानेर दाहसंस्कार र काजकिरियासमेत गरिसकेकी चण्डिका ११औँ दिनमा जीवितै भेटिएपछि आफन्तहरूमा खुसीको सीमा रहेन।

उद्धारपछि चण्डिकालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। अहिले उनको नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको छ।

११ दिनसम्म भग्नावशेषभित्र पुरिएर पनि चण्डिका जीवितै भेटिनु बाढीपछिको उद्धार अभियानकै असाधारण घटनामध्ये एक बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖