• Monday 5th of October 2026

अपर त्रिशूली–१ को सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिक छाउनी अस्पतालमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । रसुवाको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका चिनियाँ नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई नेपाली सेनाको छाउनीस्थित अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिएका छन्।

रसुवा बाढीबाट प्रभावित २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट ती चिनियाँ नागरिकलाई शनिबार जीवितै उद्धार गरिएको थियो।

बाढी आएको ११औँ दिनमा सुरुङबाट उद्धार गरिएका उनलाई सुरुमा नुवाकोटको त्रिशूलीस्थित ब्यारेकमा लगिएको थियो। त्यहाँ प्रारम्भिक स्वास्थ्य परीक्षणपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भर्ना गरिएको हो।

नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञको टोलीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरी उनलाई सुरुङबाट बाहिर निकालेको थियो।

भदौ १० गते आएको विनाशकारी बाढीका कारण अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको संरचना तथा सुरुङ प्रभावित भएको थियो। त्यसपछि सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना र विदेशी विपद् विज्ञको टोली परिचालन गरिएको थियो।

बाढी आएको ११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफल भएपछि उद्धार अभियानमा थप आशा पलाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖