काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
भदौ १८ गते ठमेलमा पैदल हिँडिरहेकी युवतीलाई ब्याट टच गरी अपशब्द बोलेको आरोपमा काठमाडौँ–१४ कलङ्कीका ३० वर्षीय सालिन साहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार साँझ पक्राउ गरेको हो।
घटनाको समयमा साह लामो कपालमा देखिएका थिए। तर पक्राउ पर्दा उनले कपाल छोटो बनाएको अवस्थामा भेटिएका छन्। घटनापछि घर गएर कपाल काटेको उनले अनुसन्धान अधिकृतसमक्ष बताएका छन्।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार हुलिया परिवर्तन गरेको अवस्थामा एक जना शंकितलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्ति घटनामा संलग्न साह नै हुन् वा होइनन् भन्ने यकिन गर्न पीडितलाई बोलाइएको छ।
“हुलिया परिवर्तन गरेको अवस्थामा शंकितलाई नियन्त्रणमा लिएका छौँ। पीडितलाई बोलाएर यकिन गरेपछि कारबाही प्रक्रिया अघि बढ्छ,” एसएसपी खड्काले बताए।
पीडितबाट सनाखत भएपछि घटनामा संलग्नता पुष्टि भए कानुनअनुसार थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
