• Sunday 4th of October 2026

नरेफाँट र सामाखुसीबाट ३७२ सिलिन्डर ग्यास बरामद, दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले काठमाडौँको नरेफाँट र सामाखुसीबाट खाना पकाउने एलपी ग्यास बरामद गरेको छ । काठमाडौँ–३२ स्थित नरेफाँटबाट १८३ थान र सामाखुसीबाट १८९ थान सिलिन्डर बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

ग्यास कालोबजारी गरेको आरोपमा नरेफाँट स्थित रामेछाप ब्राण्ड ग्यास डिलरका सञ्चालक नारायण श्रेष्ठ र बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यास कारोबार गर्ने प्रदीप घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले २ हजार ६ सय ग्यास बेच्ने गरेको भेटिएको छ । नरेफाँटको ग्यास डिलर सञ्चालकलले स्टक राखेर अभाव देखाउँदै साँखु र चक्रपथमा लगेर धेरै मूल्यमा ग्यास बेच्ने गरेको एसपी काकीले बताए ।

बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यबिनायकबाट ७५ थान र ईटाछेबाट २८ थान सिलिन्डर बरामद गरेको थियो । भक्तपुरबाट ग्यासको कालोबजारी गरेको आरोपमा सूर्यबिनायक नगरपालिका–३ स्थित ब्रम्हनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्ने २५ वर्षीय उमेश साह र इटाछेमा सगर ग्यास बेच्दै आएका ४१ वर्षीय राजेश कर्माचार्यलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

शाहले उपभोक्तालाई प्रतिसिलिन्डर २८ सयमा ग्यास बेच्ने गरेको भेटिएको छ । भक्तपुरबाट पक्राउ परेका दुवै जनालाई अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖