• Sunday 4th of October 2026

सेफ्टी ट्याङ्कीभित्र टुक्रा–टुक्रा अवस्थामा युवकको शव फेला, चार जना नियन्त्रणमा


  • धनकुटा खबर
  • .

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा सेफ्टी ट्याङ्कीभित्र एक युवकको शव टुक्रा–टुक्रा अवस्थामा फेला परेको छ।

मृतक भंगाहा नगरपालिका–६ का अशोक कुमार वातरका छोरा अन्दाजी २२ वर्षीय विवेक कुमार सरदार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९ पिगौनास्थित दिदीको घरबाट मोटरसाइकलमा आफ्नो घरतर्फ हिँडेपछि सम्पर्कविहीन भएका थिए। त्यसपछि उनका बाबुले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए।

निवेदनपछि प्रहरीले खोजतलास गर्ने क्रममा बलवा नगरपालिका–७ बनौटा निवासी अशोक कुमार ठाकुरको घर पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र टुक्रा–टुक्रा अवस्थामा विवेकको शव फेला पारेको हो।

घटनाको थप अनुसन्धानका लागि प्रहरीले बलवा नगरपालिका–७ का अन्दाजी ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी श्रीमती अन्दाजी ५५ वर्षीया रामकली देवी, बुहारी अन्दाजी २२ वर्षीया सोनु कुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ का अन्दाजी ३७ वर्षीय सियाराम शर्मालाई नियन्त्रणमा लिएको छ।

घटनाको कारण तथा युवकको मृत्यु कसरी भएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖