धनगढी । बाजुराबाट चरेस र चितुवाको छाला कैलालीतर्फ ल्याइरहेको सूचना प्रहरीलाई केही दिन अघि प्राप्त भएको थियो ।
तर त्यो सूचना परिपक्क भइसकेको थिएन । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह, लागुऔषध नियन्त्रण शाखा महेन्द्रनगर, संघीय प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीका सादा पोशाकका प्रहरीले संयुक्त रुपमा यो अप्रेशन गर्ने निधो गर्छन् ।
उनीहरु प्रारम्भिक सूचनालाई परिपक्क बनाउन केन्द्रीत भए । बुधबार बाजुराबाट आइरहेको भनिएको चितुवाको छाला र साढे ६ किलो चरेस धनगढी आइपुगेको सूचना प्रहरीले प्राप्त गर्छ । धनगढीको मिलन चोक नजिकैको होटलमा बसेर चरेस र चितुवाको छालाको कारोबार भइरहेको सूचना प्रहरीले पायो । तर प्रहरीसम्म सूचन पुग्यो भन्ने चाल पाएपछि बिक्रि गर्ने ल्याएकाहरुले आफ्नो लोकेशन परिवर्तन गर्छन् ।
उनीहरु त्यहाँबाट शहीदगेट नजिकैको एउटा होटलमा पुग्छन् । बाजुराबाट ल्याइएको जिप पार्किङ स्थलमा राखेर कोठा बुक गरेका उनीहरु सुरुमा रित्तो हात कोठामा पस्छन् । परस्थिती विश्लेषण गरिसकेपछि कालो झोला र बोरा जिपबाट निकालेर कोठामा लैजान्छन् । कोठामा पुगेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार, बैतडीको मेलौली घर भएका करनबहादुर चन्द र उनीहरुबीच बार्गेनिङ चल्छ । यो सबै गतिविधि सादा पोशाकका प्रहरीले नजिकबाट नियालिरहेका थिए ।
बाजुराबाट चितुवाको छाला र चरेस ल्याएर आएका २६ वर्षीय धनकृष्ण रोकाया र ३० वर्षीय हेमराज जोशीबीच चन्दको बार्गेनिङ चल्दाचल्दै उनीहरु बसेको कोठामा प्रहरीले छापा हान्छ । प्रहरीले उनीहरु बसेको कोठाबाट साढे ६ किलो चरेस र ७ फिट ६ इन्च लामो चितुवाको छाला बरामद गरेको छ । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर हतकडी लगाउने बेला बिक्रि गर्ने र खरिद गर्ने पक्ष उनीहरु नै भएको खुल्यो ।
हतकडी लगाउने बेला करनबहादुर चन्दले आफू पनि प्रहरी कर्मचारी भएको र सूचना संकलनका लागि यहाँ आएको बताउँछन् । सुरुदेखि उनको गतिविधि निगरानी गरिरहेका वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगानाले त्यो अख्तियारी कसले दिएको हो ? भनेर सोध्छन् । अनि चन्द मौन रहेपछि उनीपनि संलग्न भएको खुलेको थियो ।
कतिसम्म भने चन्दले आफू स्टाफ भएकाले एकपटक मुख्यमन्त्री कार्यालयमा कुराकानी गर्न दिन समेत त्यहाँ उपस्थिती प्रहरीलाई आग्रह गरिरहेका थिए । सुरक्षा स्रोतकाअनुसार चन्दले आफू मुख्यमन्त्री कार्यालयमा कार्यरत भएकाले सबै व्यवस्थापन गर्ने आश्वासन दिएका थिए । ‘उहाँहरु दुई जनालाई चन्द मुख्यमन्त्री कार्यालयमा कार्यरत सहायक हवलदार हुन् भन्ने कुरा पहिले नै थाहा रहेछ । बाजुराबाट धनगढी ल्याउन र त्यसको सबै व्यवस्थापन आफूले गर्ने आश्वासन दिएको देखिन्छ’ एक प्रहरी अधिकृतले भने ।
प्रहरी सहायक हवलदार चन्द र उनीहरुकाबीचमा साढे ६ किलो चरेस र चितुवाको छाला ९ लाखमा कारोबार गर्ने समझदारी थियो । ‘चन्दले उक्त मूल्य बराबरकोरकम दिन तयार भएको बताएपछि मात्र उनीहरु बाजुराबाट आएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो । यो प्रकरणमा जोडिएका सहायक हवलदार चन्दका गतिविधिबारे मुख्यमन्त्री कार्यालय समेत जानकार रहेको दाबी गरिन्छ तर यो कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कैलालीले चरेस र चितुवाको छालासहित पक्राउ परेका तीनै जनाबाट अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) देबेन्द्र पालले पक्राउ परेका तीनै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।
