डडेल्धुरा । ‘असोजमा घर आउँछु, बाबुको पहिलो जन्मदिन पनि सँगै मनाउँला’—२८ वर्षीय सुरज महताले केही समयअघि श्रीमती तारा बोहरालाई आश्वासन दिएका थिए। तर असोज आउनुअघि नै रसुवामा आएको विनाशकारी बाढीले उनको परिवारलाई गहिरो शोकमा धकेल्यो। भदौ १० गते रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘बी’ आयोजनामा सर्भे इन्जिनियरका रूपमा कार्यरत सुरज बेपत्ता छन्।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाकी २६ वर्षीया तारा अहिले पनि श्रीमान्को खबरको प्रतीक्षामा छिन्। काखमा एक वर्ष पुग्न लागेको छोरा छ। घरमा गाईभैँसी छन्, घाँस काट्नुपर्छ, घरको काम सम्हाल्नुपर्छ। तर ताराको मन भने सुरजसँग भएको अन्तिम फोन सम्पर्कमै अडिएको छ।
ताराका अनुसार भदौ १० गते बिहान ९ बजेर १९ मिनेटमा उनले सुरजलाई फोन गरेकी थिइन्। सुरजले फोन उठाए। दुवैले ‘हेलो’ भने। तर मोबाइलको ब्यालेन्स सकिएपछि फोन काटियो। सुरजले पुनः फोन गर्लान् भन्ने आशामा तारा केही समय प्रतीक्षा गरिरहिन्। तर फोन आएन।
त्यसैबीच काठमाडौंमा रहेकी बहिनीले फोन गरेर ‘भिनाजुले काम गर्ने ठाउँमा बाढी आएको रहेछ’ भनेपछि मात्रै ताराको मन झस्कियो। उनले तत्काल सुरजको मोबाइलमा फोन गरिन्। त्यसपछि पटक–पटक फोन गरे पनि अहिलेसम्म उनको फोन उठेको छैन।
सुरज करिब डेढ वर्षदेखि त्रिशूली–३ ‘बी’ आयोजनामा सर्भे इन्जिनियरका रूपमा कार्यरत थिए। उनी कम्पनीकै क्याम्पमा बस्ने र मेसमा खाना खाने गर्थे। कामको प्रकृति कल ड्युटी भएकाले कार्यालयले जहाँ जान भन्यो, त्यहीँ पुग्नुपर्ने अवस्था रहेको परिवारको भनाइ छ।
तर बाढी आएको दिन सुरज वास्तवमा कहाँ थिए, के गर्दै थिए र कसरी बेपत्ता भए भन्ने विषयमा परिवार अझै अनभिज्ञ छ। सुरजले आफू बस्ने क्याम्प टनेलबाट करिब १५–२० मिनेटको दूरीमा रहेको परिवारलाई बताएका थिए।
ताराका अनुसार सुरजसँगै एउटै क्याम्पमा बसेर काम गर्ने केही साथीको शव फेला परिसकेको छ। परिवारका सदस्यहरू काठमाडौं र चितवनसम्म पुगेर भेटिएका शवसमेत हेरे। तर सुरजको अवस्था भने पत्ता लाग्न सकेन।
‘दुई–तीन वटा शव हेर्नुभयो, तर चिनिने अवस्था पनि थिएन। हामीले उहाँलाई भेटेनौँ,’ ताराले भनिन्।
सुरजका आफन्त, भारतबाट फर्किएका उनका भाइ र ज्वाइँसमेत खोजीका लागि विभिन्न स्थानमा पुगे। अस्पताल, शव राखिएका स्थान तथा सम्भावित क्षेत्रमा खोजी गरे पनि अहिलेसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
सुरज र ताराको विवाह भएको पाँच वर्ष पुगेको छ। परिवारमा आमा, हजुरआमा, भाइ, श्रीमती र सानो छोरा छन्। सुरजका बुवाको निधन भइसकेकाले परिवारको मुख्य जिम्मेवारी उनकै काँधमा थियो।
गाउँको खेतीपातीले वर्षभरि परिवार पाल्न नपुग्ने भएपछि पढाइ सकेदेखि नै सुरज रोजगारीको खोजीमा विभिन्न ठाउँ पुगेका थिए। धनगढी, मसुरिया, नेपालगन्ज हुँदै संखुवासभासम्म काम गरेका उनी करिब डेढ वर्षअघि रसुवा पुगेका थिए।
केही समय काम छाडेर काठमाडौंमा कोरियन भाषा पढ्दै विदेश जाने तयारीसमेत गरेका सुरजले असोजमा घर आएपछि पुनः रसुवा नफर्किने कुरा परिवारसँग गरेका थिए।
गत असारमा घर आएका उनी खेतीपातीको काम सकेर फेरि रसुवा फर्किएका थिए। असोज ९ गते उनीहरूको पहिलो सन्तान छोरा एक वर्ष पुग्दैछ। त्यही अवसरमा घर फर्किएर बुवाको श्राद्धसमेत गर्ने सुरजको योजना थियो। तर अहिले जन्मदिन र श्राद्धको तयारी गर्नुपर्ने परिवारले सुरजको एउटा खबरसमेत पाउन सकेको छैन।
‘बाबुको जिम्मेवारी, आमा–हजुरआमा, भाइ र मेरो सबै जिम्मेवारी उहाँमाथि थियो। घरको कमाउने मान्छे नै अहिले कहाँ छन् भन्ने थाहा छैन। उहाँबिना घर कसरी चलाउने?’ ताराले पीडा सुनाइन्।
सुरज बेपत्ता भएपछि घरमा सन्नाटा छाएको छ। आमा र हजुरआमा छोराको खबरको प्रतीक्षामा छन्। भाइ पनि पीडामा छन्। आफन्तहरू आएर सम्झाउने गर्छन्। तर लामो समयसम्म कुनै खबर नआएपछि परिवारको आशा क्रमशः निराशामा बदलिँदै गएको छ।
ताराले अब सुरज जीवितै भेटिने आशाभन्दा कम्तीमा उनको शव भए पनि पत्ता लागोस् भन्ने चाहना व्यक्त गरेकी छन्।
‘हामी कति दिन यसरी तड्पिएर बस्ने? उहाँको अब सास बाँकी छ भन्ने आशा मलाई छैन। लास भए पनि पत्ता लगाइदिनुहोस् सरकार,’ उनले भनिन्।
बाढीपछि बेपत्ता भएकाहरूको खोजी र शव पहिचानका लागि डीएनए परीक्षणलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको माग छ। शव फेला परे पनि पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षणमार्फत परिवारलाई सत्य जानकारी दिन सकिने उनको विश्वास छ।
घटनापछि स्थानीय जनप्रतिनिधि ताराको घरमा पुगेर सहयोग गर्ने आश्वासन दिएका थिए। तर अहिलेसम्म प्रदेश वा स्थानीय सरकारबाट परिवारले ठोस सहयोग पाउन नसकेको उनको गुनासो छ।
सुरजको खोजीका लागि परिवारका सदस्यहरू आफैँ दौडधुप गरिरहेका छन्। तर ताराका लागि यो झन् कठिन छ। काखमा सानो बच्चा भएकाले बच्चालाई छाडेर खोजीमा जान सक्ने अवस्था छैन। बच्चालाई साथमा लिएर टाढा–टाढा पुगेर खोजी गर्न पनि सहज छैन।
त्यसैले उनी अहिले पनि घरको ढोकातिर आँखा लगाएर बसेकी छन्—सायद कुनै दिन सुरज फर्किएर आउनेछन् कि भनेर।
तर दिन बित्दै जाँदा उनको प्रतीक्षा पीडामा बदलिँदै गएको छ।
