सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट सम्पर्कविहीन भएकी एक महिलाको शव बर्दियामा फेला परेको छ।
वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीकी २७ वर्षीया उमा ज्ञवाली न्यौपाने भदौ २५ गतेदेखि परिवारको सम्पर्कमा आएकी थिइनन्।
भदौ २६ गते बर्दियाको बढैयाताल गाउँपालिका–६ सोनाहफाँटस्थित मनाउदेखि टपरा जाने सिँचाइ कुलोमा उनको शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय पाताभारले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाएको थियो।
परिवारका सदस्यले गुलरिया पुगेर शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिए।
प्रहरीका अनुसार उमाको मानसिक अवस्था ठीक नरहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
