काठमाडौँ। रामेछापमा नसालु पदार्थ सेवन गराई महिलालाई बेहोस बनाएर सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चोरी भएको सुनको गहना खरिद गरेको आरोपमा एक सुन पसल सञ्चालकसमेत पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–६, नौरीकी ५४ वर्षीया विभा माझीलाई गत भदौ २४ गते दिउँसो अपरिचित महिलाले नसालु पदार्थ सेवन गराई बेहोस बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बेहोस भएपछि उनको कानमा लगाएको सक्कली सुनको बेरुवा रिङ निकालेर त्यसको सट्टा नक्कली गहना लगाई आरोपित महिला फरार भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त भएपछि प्रहरीले शङ्कास्पद स्थानमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज जाँच गरेको थियो। फुटेज तथा अन्य अनुसन्धानका आधारमा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका–१ का ३६ वर्षीय सीताराम लोहार र गोकुलगंगा गाउँपालिका–२, दोर्जेकी ५३ वर्षीया मैया कार्की रहेका छन्। लोहार मन्थलीमा रहेको न्यू सनराईज ज्वलर्सका सञ्चालक हुन्।
प्रहरीले लोहारको सुन पसलबाट पीडितको कानबाट निकालिएको १४ लाल १ प्वाइन्ट तौलका सुनका बेरुवा रिङ दुई थान बरामद गरेको जनाएको छ।
त्यस्तै, कार्कीको घरबाट पहेंलो रङको धातुको बेरुवा रिङ दुई थान, औँठी एक थान, फुली दुई थान, कीप्याड मोबाइल चार थान र नगद ७ हजार ३ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले चोरीका क्रममा प्रयोग गरिएको भनिएको कालो रङको ‘CAT’ लेखिएको झोला, गाढा रातो ज्याकेट तथा रातो कुर्ता–सुरुवाल समेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिएका छन्।
